प्रत्येक बालबालिकालाई
सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार
माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने
कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु
सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले
घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व
नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ,
बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र
सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ ।
सुरक्षित
सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र
आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले
घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वातावरणमा अधिकार
र सुरक्षित सिकाइबाट वञ्चित हुन्छन् । जसकारण घरेलु हिंसाको सिकार हुने, बालश्रममा प्रयोग हुने, बालविवाहका लागि
बाध्य पारिने तथा शारीरिक यातना पाउने जोखिम हुने गर्छ । साथै सिकाइमा विभेद, दुर्व्यवहार,
सामाजिक विभेद र गालीगलौजको सामना गर्नुपर्ने हुनसक्छ । सुरक्षित वातावरण र सिकाइको अभावमा कुलतमा
पर्ने, बालबिज्याईमा लाग्ने तथा बालदुराचारको सामना गर्नुपर्ने हुन्छ । बालबालिकामाथि हुने हिंसा र
दुर्व्यवहारले सिकाइ, बुझाइ र ज्ञानसिपको प्रयोगमा असर पुर्याउछ । पुनर्स्थापना नहुने डरले परेका समस्या
लुकाउने अथवा भन्न डराउने वातावरणको सिर्जना हुने भएकाले बालबालिकाहरुलाई
मनोवैज्ञानिक रुपले विक्षिप्त बनाउने गर्छ ।
सुरक्षित वातावरणले
सुरक्षित सिकाइलाई प्रभाव पार्छ । सुरक्षित सिकाइ गर्ने वातावरण भित्र घरपरिवार, विद्यालय र समुदाय तथा समाज पर्छन्
। बालबालिकामाथि
हुने शारीरिक तथा मानसिक प्रहारले सिकाइलाई प्रत्यक्ष प्रभाव पार्दछ । शारीरिक
रुपले शारीरिक बल प्रयोग गरि चिमोटी काटेर, हातले हिर्काएर तथा जबर्जस्तीकरणीबाट
पीडित हुनसक्छन् । यस्ता प्रकारका हिंसा परिवार, विद्यालय
तथा समुदाय भित्र हुने
गर्छन् । परिवारमा उनिहरुका कुरा नसुन्ने, झर्को
स्वरमा बोल्ने, पिट्ने, केहि वस्तुले हिर्काउने, स्वतन्त्र पढ्ने वातावरण नदिने,
परिवारकै सदस्यबाट दुर्व्यवहारमा पर्ने गरेका हुन्छन् । त्यस्तै
विद्यालयमा शिक्षकबाट गरिने विभेद जस्तै अब्बल विद्यार्थीलाई मात्र ध्यान दिने,
कमजोरहरुले प्रश्न राख्न डराउने, डर देखाएर सिकाइने, अतिरिक्त कार्यक्रममा समान सहभागिता
र अवसरबाट वञ्चित गरिने, शिक्षकबाट अपहेलित र साथीहरुबाट तिरस्कृत हुने जस्ता क्रियाकलापले
विद्यालयमा असुरक्षित महसुस गराउँछ । समुदायस्तरमा भने सामाजिक विभेद, अपमान, तिरस्कार,
डरधम्की तथा अपराधको अवस्था र प्रकृतिले बालबालिकाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष
रुपले हिंसाको सिकार बनाउँछ ।
बालदुर्व्यवहारको
जोखिममा शारीरिक शोषणको लागि बालकहरु,
यौनदुर्व्यवहारको लागि बालिकाहरु र शारीरिक अपांगता भएका बालबालिकाहरु बढी जोखिममा
हुन्छन् । त्यस्तै गरिब परिवारका बालबालिकाहरु र घरपरिवार तथा अभिभावकबाट प्रभावित बालबालिकाहरुको
लागुपदार्थ दुर्व्यवहार र हिंसाका लागि प्रयोग गरिने विभिन्न अध्ययनहरुले देखाउँछ ।
बालदुर्व्यवहारप्रति
गरिने प्रतिक्रिया तथा घटनाको सुनुवाईले बालबालिकाको संरक्षण गर्नुका साथसाथै उनिहरुको
प्रभावकारी सिकाइमा अहम भूमिका राख्छ । बालदुर्व्यवहार समाजका लागि एक मुख्य समस्या हो । यस्ता
घटनाहरु विभिन्न कारण देखाएर लुकाउने गरेको पाइन्छ । बालबालिकाहरु
पुनर्स्थापनाको पिरले घटना बाहिर ल्याउन डराउँछन् । पीडकले दिने धम्कि, बेज्जती हुने डर र
घटनाबारे विश्वास दिलाउन नसकिने होकी भन्ने पीडा उनिहरुमा लुकेको हुन्छ । बलात्कारीबिरुद्ध प्रहरीकहाँ उजुरी गर्न
गाउँलेहरुले नै रोक लगाउँदै चेतावनी दिएपछि आत्महत्या गरेका उदाहरण समुदायमा छन् । पीडा बाहिर
ल्याउदा पीडकलाई कारबाहीको सट्टा पीडितमा थप पीडा सृजना हुने अवस्थाले बालबालिकाहरु
घटना बाहिर ल्याउन आँट गर्दैनन् । त्यसैले, समुदायका नेता, भद्रभलादमी र
प्रमुख निकायहरुको सक्रियताले बालबालिकाहरुको लागि सुरक्षित वातावरण निर्माण गर्न
भूमिका खेल्नेगर्छ । पीडितको गोपनीयताको र सम्मानजनक बाँच्ने अधिकारको संरक्षण समुदायले गर्नुपर्छ
। साथै विद्यालयमा भैरहेको सिकाइ र त्यसको
प्रभावकारीताबारे समुदायले जानकारी राखि बालबालिकाको भविष्यबारे चासो देखाउनुपर्छ । घरदैलो तथा आमसंचारद्वारा सचेतना अभियान
र सार्वजनिक स्थानमा सूचना प्रदर्शन लगायतका अभियानले समुदायलाई सुरक्षित शिक्षाबारे
जानकारी दिन सकिन्छ । जसलेगर्दा समुदाय सुरक्षित सिकाइको वातावरण निर्माण गर्न सक्रिय हुनसक्छन् ।
विद्यालयमा
गरिने समान व्यवहार, स्वतन्त्रताको सम्मान, प्रभावकारी संरक्षण र सिकाइले बालअधिकार
संरक्षणका साथै सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ । बालक्लब र अतिरिक्त क्रियाकलापमा समान र
सम्मानित सहभागिताले बालबालिकाको आत्मवल र विश्वासमा वृद्धि गर्न सकिन्छ । युवा तथा बालबालिकालाई अधिकारबारे सचेत
गराउने काम विद्यालयले गर्नुपर्छ । बालबालिकाहरु परिवारमा भन्दापनि बढी विद्यालयमा
बस्ने भएकाले विद्यालय सिकाइको अभिन्न अंग हो । बालबालिकाहरुको
वृद्धिविकासका लागि मनोरञ्जनका साथसाथै अनुशासनमा राखेर हरेक समयमा सिक्ने अवसर दिनुपर्छ
। विद्यालयले विद्यार्थीको आवाज सुन्नुका साथै
गुनासोहरु व्यवस्थापन गर्नुपर्छ । शिक्षकहरुको
प्रभावकारी सिकाइ विधिको स्वमुल्यांकन अत्यन्त आवश्यक छ । सुरक्षित सिकाइ
क्षमता अभिवृद्धि गर्न शिक्षक/शिक्षिकाहरुको लागि सिकाइका स्रोतहरु उपलब्ध
गराउनुपर्छ । विद्यालयले प्राप्त गर्ने अनुदान र सहयोगबाट
पुस्तक, सेमिनार तथा अनुसन्धान मार्फत क्षमता विकास गराउन उपयोग गर्न सकिन्छ ।
बालबालिकाको
पहिलो सिकाइको थलो परिवार हो । बालबालिकालाई बालमैत्री वातावरणको सुरुवात
परिवारबाट गर्नुपर्छ । उनिहरुका कुरा सुन्ने, दुर्व्यवहारबारे जानकारी दिने, व्यवहारको अवलोकन गर्ने,
जिज्ञासा राख्न प्रेरित गर्दै विश्वासिलो सम्बन्ध बनाउन आवश्यक छ । सम्भावित
घटनाबाट बच्न गुड टच ब्याड टच र शारीरिक परिवर्तनको बारेमा जानकारी दिनुपर्छ । साथै जोखिमबाट बच्ने उपाय जस्तै शंका
लागेको थाहा पाउने, नकार्ने, आवाज दिने, भाग्ने, नजिकको अभिभावकलाई बताउने र उजुरी
गर्ने बिषयमा जानकारी दिनुपर्छ । घरपरिवारमा बालबालिकाहरुले सबैभन्दा बढी
सुरक्षित महसुस गर्ने भएकाले उनिहरुको आत्मबल बचाइराख्न आमाबुवा, दिदीदाई र नजिकको
नातेदारले ध्यान पुर्याउनुपर्छ । बालबालिकाहरुप्रति परिवारका सबै सदस्य
जवाफदेही हुनुपर्छ ।
बालबालिकालाई
आवश्यक परेमा मनोपरामर्श दिनुका साथसाथै उचित स्वास्थ्योपचार र सामाजिकरण
गराउनुपर्छ । समुदाय, स्कुल, र परिवारले दिएका सुचनाले
बालबालिकाको सुरक्षित सिकाइको वातावरणलाई बलियो बनाउँछ । त्यस्तै विभिन्न कार्यक्रम गोष्ठी सेमिनारहरु बालक्लब मार्फत गराउँदा उनिहरुलाई
आफ्नै अधिकार र बिकासका लागि सहभागिता बढाउन प्रेरित गर्दछ । सम्बन्धित विषयमा बनाइने
टेलिशृङ्खलाहरुले मनोरञ्जनका साथै विषयवस्तुका बारेमा ज्ञान दिनेगर्छ । बालबालिकाहरुले आत्मबल बढाउँदै
आफ्नाबारे कुरा राख्ने ठाउँ ‘सक्छिन छोरी’ टेलिकार्यक्रम जस्तै कार्यक्रमहरुले दिनेछन्
। उनिहरुले गरेका पहल, काम र प्रयास दौतरीहरुका लागि प्रेरणाका स्रोत बन्नेछन् । जसले साथी-शिक्षालाई बलियो बनाउनेछ । साथै प्रहरी, स्थानीय निकाय, संघसंस्था र क्लबसंजाल, स्वास्थ्य
संस्थाहरु, बालबालिका सरोकार राख्ने बाल हेल्पलाइन र राष्ट्रिय बालअधिकार परिषद्का
कामबारे सुचित गराउनु पनि आवश्यक छ ।
सुरक्षित
वातावरण निर्माणका लागि बालबालिकाहरुले आफैँपनि प्रयास गर्नसक्छन । घरमा हुँदा अभिभावकसंग स्पष्टरुपमा आफुलाई
असहज लागेका विषय खुलाउन अप्ठ्यारो मान्नुहुँदैन । बालबालिकाले विद्यालयमा हुदाँ शिक्षकसंग
कुराहरु राख्ने, शिक्षकहरुले नसुनेको अवस्थामा प्रधानाध्यापक समक्ष गुनासा राख्ने
साथै साथीहरु संग सहयोग आदानप्रदान गर्नुपर्छ । समाजमा हुँदा
सामाजिक चेतनाका कार्यक्रम तथा युवा अभियानमा अग्रसर हुनुपर्छ । स्थानीय तहमा नीति निर्माण गर्ने तथा
परामर्श कार्यक्रममा सहभागी भएर आफ्ना विचार खुलेर राख्नुपर्छ । बालक्लवका माध्यमबाट आफ्ना उमेर समूहका
सदस्यहरुलाई नयाँ सुचना दिने, सुरक्षित वातावरणका बारेमा जानकारी दिने, अधिकारका
विषयमा सक्षम बनाउने र विभिन्न कार्यक्रम तथा छलफलबाट बालबालिकाको हितका लागि
सामुहिक प्रयास गर्न सकिन्छ । यौन प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीपबारे जानकारी लिने र साथीसमूहमा
ज्ञान बाँड्ने काम स्वयम् आफैँले गर्न सकिन्छ ।
बालअधिकारका
सवाललाई सम्बोधन गर्न नेपालको संबिधान २०७२ को मौलिक हक धारा ३९ मा विभिन्न उपधाराहरु
समाबेश भएपनि कार्यान्वयन पूर्णत हुनसकेको छैन । अझैपनि बालबालिका तथा किशोरकिशोरीलाई सबै
प्रकारका हिंसा विरुद्धको सुरक्षा चाहिन्छ । हिंसामुक्त भएमा सुरक्षित सिकाइ प्रभावकारी हुन्छ । हिंसाका विभिन्न
स्वरुपले बालबालिकाहरुको अधिकार दुरुपयोग भएको अध्ययनहरुले देखाउछ । जसको असर उनिहरुको मनोविज्ञान र विकासमा
नकारात्मक पर्दछ । जुन घर, समाज र समुदायमा हिंसात्मक प्रवृत्ति हुन्छ त्यहाँका बालबालिकामा
स्वाभाविकरुपले हिंसात्मक स्वभाव पैदा हुन्छ । जसलेगर्दा उनिहरु
बालबिज्याईमा सक्रिय हुनसक्छन् । बालबालिकाले स्वतन्त्रता, भेदभाव विरुद्ध, संरक्षण, सहभागीता, सुचना,
गोपनीयता, खेलकुद, र मनोरञ्जन तथा सांस्कृतिक अधिकारहरु सुनिश्चित गर्दै शिक्षाको
अधिकार अनुभूति गर्न पाउनु आवश्यक छ । फलस्वरुप बालबालिका सिर्जनशील, अनुशासित
हुनुका साथै कर्तव्यमुखी हुनेछन् । जहाँ डर, भय र त्रासबाट टाढा रहेर सजिलै समस्या, पीडा र गुनासा राख्न
सक्नेछन् । बालमैत्री तथा किसोरकिशोरीमैत्री सिकाइ र सिप दीर्घकालीन हुनेछ । दिघो विकासमा प्रत्यक्ष प्रभाव राख्ने सिकाइ
सधैं सुरक्षित वातावरणमा हुनुपर्छ ।
अवश्य पनि,
सिकाइ सामान्य वातावरणमा सुरक्षित र सहयोगी भयो भने त्यस्तो सिकाइ सुदृढ र मजबुत हुन्छ
। सुरक्षित
सिकाइलाई प्रभावकारी बनाउन बालबालिकासंग सरोकार राख्ने सबैको भूमिका उत्तिकै
चाहिन्छ । सर्वप्रथम बालबालिकाको विषयबारे सम्पूर्ण सरोकारवालाले जानकारी राख्नुपर्छ । सो विषयमा सबै संबेदनशील हुनुपर्छ । आवश्यक परेको खण्डमा गोपनीयताको पूर्ण
पालना गर्नुपर्छ । बालबालिकाका मुद्दाबारे उनिहरुलाई पनि सचेत
गराउनुपर्छ । बालबालिकाको स्वभावमा लचिलोपन बढी हुन्छ । उनिहरुको
मनपर्ने र मनोरञ्जन लिने तरिकाबाट सिकाइलाई सिर्जनशील बनाउनुपर्छ । बालबालिकाको
कमजोरीलाई चिनेर नरम रुपले प्रस्तुत हुनुपर्छ । उनिहरुका
कमजोर पक्षलाई ध्यानमा पुर्याएर सबल सिकाइमा संबेदनशील हुनुपर्छ ।
सबैले किसोरकिशोरी
तथा बालबालिकाप्रति दायित्व बोध गर्नुपर्छ । उनिहरुको संरक्षणकालागि हरेक तहमा निश्चित
ढाँचा तयार गर्नुपर्छ । घरमा हुने संरक्षण, केयर गृह, विद्यालय, समुदायमा हुने संरक्षणबारे राष्ट्रिय
तथा अन्तराष्ट्रिय अभ्यासलाई हेर्दै प्रदेश र स्थानीय तहमा सिकाइका उत्तम
अभ्यासहरु आत्मसात गर्न सकिन्छ । यसका लागि अध्ययन अनुसन्धानमा बढी जोड आवश्यक पर्दछ । जोखिम मूल्यांकन गरेर उक्त जोखिमको समयमै
सम्बोधन गर्नुपर्छ । जोखिम रोकथाम तथा व्यवस्थापनमा सहयोग गरि सुरक्षित वातावरण बनाउन सरोकारवालाहरु
सक्रिय रहनुपर्छ ।
अन्त्यमा, सरकार
र सरकारी निकायहरुले सुरक्षित सिकाइका नीति प्रक्रियाहरु विकास गर्दै बालबालिकाको
सरोकारका प्रमुख क्षेत्र र समस्याको पहिचान गर्नुपर्छ । सुरक्षित सिकाइका लागि आचारसंहिता,
सुरक्षा नीति, मार्गदर्शन, रणनीतिहरु बनाई सबैलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्छ
। युवा, बालबालिका तथा किसोरकिशोरीहरुलाई
नै सुरक्षित सिकाइबारे जानकारी दिन सक्यौ भने अझ प्रभावकारी नतिजा ल्याउनेछ । सुरक्षित शिक्षणका लागि वातावरणको भूमिका
र प्रभावबारे अभिभावक र बालबालिका हेरचाहकर्तालाई शिक्षा दिनुका साथसाथै सुरक्षित
शिक्षणबारे प्रतिवद्ध गराउनुपर्छ । हिंसा, उत्पीडन, र दुर्व्यवहार भएमा समयमै रिपोर्ट गरि उचित सुनुवाई
गर्नुपर्छ । हरेक क्षेत्रमा केहि राम्रो गर्दा सामान्य अबरोधहरु आउन सक्छन । चुनौतीको सामना गर्दै युवा तथा बालसहभागिता सुनिश्चित गरि सुरक्षित सिकाइलाई
प्रभावकारी बनाउनुपर्छ । सुरक्षित सिकाइको सबैभन्दा महत्वपूर्ण पाटो भनेको सुरक्षित वातावरण
बनाइसकेपछी यसलाई कायम राख्न सक्नुपर्छ । आजको प्रयासले भोलिको भबिष्य निर्धारण गर्नेछ ।
#Selected
#Creativity_Competition_on_Safe_to_Learn, SDG STUDIO
Dherai ramro,💓
ReplyDelete