Skip to main content

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ सुरक्षा सबैका लागि महत्वपूर्ण छ कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ

सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन असहज, डर, भय र असुरक्षित वातावरणमा अधिकार र सुरक्षित सिकाइबाट वञ्चित हुन्छन् जसकारण घरेलु हिंसाको सिकार हुने, बालश्रममा प्रयोग हुने, बालविवाहका लागि बाध्य पारिने तथा शारीरिक यातना पाउने जोखिम हुने गर्छ साथै सिकाइमा विभेद, दुर्व्यवहार, सामाजिक विभेद र गालीगलौजको सामना गर्नुपर्ने हुनसक्छ सुरक्षित वातावरण र सिकाइको अभावमा कुलतमा पर्ने, बालबिज्याईमा लाग्ने तथा बालदुराचारको सामना गर्नुपर्ने हुन्छ बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारले सिकाइ, बुझाइ र ज्ञानसिपको प्रयोगमा असर पुर्याउछ पुनर्स्थापना नहुने डरले परेका समस्या लुकाउने अथवा भन्न डराउने वातावरणको सिर्जना हुने भएकाले बालबालिकाहरुलाई मनोवैज्ञानिक रुपले विक्षिप्त बनाउने गर्छ

सुरक्षित वातावरणले सुरक्षित सिकाइलाई प्रभाव पार्छ सुरक्षित सिकाइ गर्ने वातावरण भित्र घरपरिवार, विद्यालय र समुदाय तथा समाज पर्छन् बालबालिकामाथि हुने शारीरिक तथा मानसिक प्रहारले सिकाइलाई प्रत्यक्ष प्रभाव पार्दछ शारीरिक रुपले शारीरिक बल प्रयोग गरि चिमोटी काटेर, हातले हिर्काएर तथा जबर्जस्तीकरणीबाट पीडित हुनसक्छन् यस्ता प्रकारका हिंसा परिवार, विद्यालय तथा समुदाय भित्र हुने गर्छन् परिवारमा उनिहरुका कुरा नसुन्ने, झर्को स्वरमा बोल्ने, पिट्ने, केहि वस्तुले हिर्काउने, स्वतन्त्र पढ्ने वातावरण नदिने, परिवारकै सदस्यबाट दुर्व्यवहारमा पर्ने गरेका हुन्छन् त्यस्तै विद्यालयमा शिक्षकबाट गरिने विभेद जस्तै अब्बल विद्यार्थीलाई मात्र ध्यान दिने, कमजोरहरुले प्रश्न राख्न डराउने, डर देखाएर सिकाइने, अतिरिक्त कार्यक्रममा समान सहभागिता र अवसरबाट वञ्चित गरिने, शिक्षकबाट अपहेलित र साथीहरुबाट तिरस्कृत हुने जस्ता क्रियाकलापले विद्यालयमा असुरक्षित महसुस गराउँछ समुदायस्तरमा भने सामाजिक विभेद, अपमान, तिरस्कार, डरधम्की तथा अपराधको अवस्था र प्रकृतिले बालबालिकाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले हिंसाको सिकार बनाउँछ

बालदुर्व्यवहारको जोखिममा शारीरिक शोषणको लागि बालकहरु, यौनदुर्व्यवहारको लागि बालिकाहरु र शारीरिक अपांगता भएका बालबालिकाहरु बढी जोखिममा हुन्छन् त्यस्तै गरिब परिवारका बालबालिकाहरु र घरपरिवार तथा अभिभावकबाट प्रभावित बालबालिकाहरुको लागुपदार्थ दुर्व्यवहार र हिंसाका लागि प्रयोग गरिने विभिन्न अध्ययनहरुले देखाउँछ

बालदुर्व्यवहारप्रति गरिने प्रतिक्रिया तथा घटनाको सुनुवाईले बालबालिकाको संरक्षण गर्नुका साथसाथै उनिहरुको प्रभावकारी सिकाइमा अहम भूमिका राख्छ बालदुर्व्यवहार समाजका लागि एक मुख्य समस्या हो यस्ता घटनाहरु विभिन्न कारण देखाएर लुकाउने गरेको पाइन्छ बालबालिकाहरु पुनर्स्थापनाको पिरले घटना बाहिर ल्याउन डराउँछन् पीडकले दिने धम्कि, बेज्जती हुने डर र घटनाबारे विश्वास दिलाउन नसकिने होकी भन्ने पीडा उनिहरुमा लुकेको हुन्छ बलात्कारीबिरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरुले नै रोक लगाउँदै चेतावनी दिएपछि आत्महत्या गरेका उदाहरण समुदायमा छन् पीडा बाहिर ल्याउदा पीडकलाई कारबाहीको सट्टा पीडितमा थप पीडा सृजना हुने अवस्थाले बालबालिकाहरु घटना बाहिर ल्याउन आँट गर्दैनन् त्यसैले, समुदायका नेता, भद्रभलादमी र प्रमुख निकायहरुको सक्रियताले बालबालिकाहरुको लागि सुरक्षित वातावरण निर्माण गर्न भूमिका खेल्नेगर्छ पीडितको गोपनीयताको र सम्मानजनक बाँच्ने अधिकारको संरक्षण समुदायले गर्नुपर्छ साथै विद्यालयमा भैरहेको सिकाइ र त्यसको प्रभावकारीताबारे समुदायले जानकारी राखि बालबालिकाको भविष्यबारे चासो देखाउनुपर्छ घरदैलो तथा आमसंचारद्वारा सचेतना अभियान र सार्वजनिक स्थानमा सूचना प्रदर्शन लगायतका अभियानले समुदायलाई सुरक्षित शिक्षाबारे जानकारी दिन सकिन्छ जसलेगर्दा समुदाय सुरक्षित सिकाइको वातावरण निर्माण गर्न सक्रिय हुनसक्छन्

विद्यालयमा गरिने समान व्यवहार, स्वतन्त्रताको सम्मान, प्रभावकारी संरक्षण र सिकाइले बालअधिकार संरक्षणका साथै सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ बालक्लब र अतिरिक्त क्रियाकलापमा समान र सम्मानित सहभागिताले बालबालिकाको आत्मवल र विश्वासमा वृद्धि गर्न सकिन्छ युवा तथा बालबालिकालाई अधिकारबारे सचेत गराउने काम विद्यालयले गर्नुपर्छ बालबालिकाहरु परिवारमा भन्दापनि बढी विद्यालयमा बस्ने भएकाले विद्यालय सिकाइको अभिन्न अंग हो बालबालिकाहरुको वृद्धिविकासका लागि मनोरञ्जनका साथसाथै अनुशासनमा राखेर हरेक समयमा सिक्ने अवसर दिनुपर्छ विद्यालयले विद्यार्थीको आवाज सुन्नुका साथै गुनासोहरु व्यवस्थापन गर्नुपर्छ शिक्षकहरुको प्रभावकारी सिकाइ विधिको स्वमुल्यांकन अत्यन्त आवश्यक छ सुरक्षित सिकाइ क्षमता अभिवृद्धि गर्न शिक्षक/शिक्षिकाहरुको लागि सिकाइका स्रोतहरु उपलब्ध गराउनुपर्छ विद्यालयले प्राप्त गर्ने अनुदान र सहयोगबाट पुस्तक, सेमिनार तथा अनुसन्धान मार्फत क्षमता विकास गराउन उपयोग गर्न सकिन्छ

बालबालिकाको पहिलो सिकाइको थलो परिवार हो बालबालिकालाई बालमैत्री वातावरणको सुरुवात परिवारबाट गर्नुपर्छ उनिहरुका कुरा सुन्ने, दुर्व्यवहारबारे जानकारी दिने, व्यवहारको अवलोकन गर्ने, जिज्ञासा राख्न प्रेरित गर्दै विश्वासिलो सम्बन्ध बनाउन आवश्यक छ सम्भावित घटनाबाट बच्न गुड टच ब्याड टच र शारीरिक परिवर्तनको बारेमा जानकारी दिनुपर्छ साथै जोखिमबाट बच्ने उपाय जस्तै शंका लागेको थाहा पाउने, नकार्ने, आवाज दिने, भाग्ने, नजिकको अभिभावकलाई बताउने र उजुरी गर्ने बिषयमा जानकारी दिनुपर्छ घरपरिवारमा बालबालिकाहरुले सबैभन्दा बढी सुरक्षित महसुस गर्ने भएकाले उनिहरुको आत्मबल बचाइराख्न आमाबुवा, दिदीदाई र नजिकको नातेदारले ध्यान पुर्याउनुपर्छ बालबालिकाहरुप्रति परिवारका सबै सदस्य जवाफदेही हुनुपर्छ

बालबालिकालाई आवश्यक परेमा मनोपरामर्श दिनुका साथसाथै उचित स्वास्थ्योपचार र सामाजिकरण गराउनुपर्छ समुदाय, स्कुल, र परिवारले दिएका सुचनाले बालबालिकाको सुरक्षित सिकाइको वातावरणलाई बलियो बनाउँछ   त्यस्तै विभिन्न कार्यक्रम गोष्ठी सेमिनारहरु बालक्लब मार्फत गराउँदा उनिहरुलाई आफ्नै अधिकार र बिकासका लागि सहभागिता बढाउन प्रेरित गर्दछ सम्बन्धित विषयमा बनाइने टेलिशृङ्खलाहरुले मनोरञ्जनका साथै विषयवस्तुका बारेमा ज्ञान दिनेगर्छ बालबालिकाहरुले आत्मबल बढाउँदै आफ्नाबारे कुरा राख्ने ठाउँ ‘सक्छिन छोरी’ टेलिकार्यक्रम जस्तै कार्यक्रमहरुले दिनेछन् उनिहरुले गरेका पहल, काम र प्रयास दौतरीहरुका लागि प्रेरणाका स्रोत बन्नेछन् जसले साथी-शिक्षालाई बलियो बनाउनेछ साथै प्रहरी, स्थानीय निकाय, संघसंस्था र क्लबसंजाल, स्वास्थ्य संस्थाहरु, बालबालिका सरोकार राख्ने बाल हेल्पलाइन र राष्ट्रिय बालअधिकार परिषद्का कामबारे सुचित गराउनु पनि आवश्यक छ

सुरक्षित वातावरण निर्माणका लागि बालबालिकाहरुले आफैँपनि प्रयास गर्नसक्छन घरमा हुँदा अभिभावकसंग स्पष्टरुपमा आफुलाई असहज लागेका विषय खुलाउन अप्ठ्यारो मान्नुहुँदैन बालबालिकाले विद्यालयमा हुदाँ शिक्षकसंग कुराहरु राख्ने, शिक्षकहरुले नसुनेको अवस्थामा प्रधानाध्यापक समक्ष गुनासा राख्ने साथै साथीहरु संग सहयोग आदानप्रदान गर्नुपर्छ समाजमा हुँदा सामाजिक चेतनाका कार्यक्रम तथा युवा अभियानमा अग्रसर हुनुपर्छ स्थानीय तहमा नीति निर्माण गर्ने तथा परामर्श कार्यक्रममा सहभागी भएर आफ्ना विचार खुलेर राख्नुपर्छ बालक्लवका माध्यमबाट आफ्ना उमेर समूहका सदस्यहरुलाई नयाँ सुचना दिने, सुरक्षित वातावरणका बारेमा जानकारी दिने, अधिकारका विषयमा सक्षम बनाउने र विभिन्न कार्यक्रम तथा छलफलबाट बालबालिकाको हितका लागि सामुहिक प्रयास गर्न सकिन्छ यौन प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीपबारे जानकारी लिने र साथीसमूहमा ज्ञान बाँड्ने काम स्वयम् आफैँले गर्न सकिन्छ

बालअधिकारका सवाललाई सम्बोधन गर्न नेपालको संबिधान २०७२ को मौलिक हक धारा ३९ मा विभिन्न उपधाराहरु समाबेश भएपनि कार्यान्वयन पूर्णत हुनसकेको छैन अझैपनि बालबालिका तथा किशोरकिशोरीलाई सबै प्रकारका हिंसा विरुद्धको सुरक्षा चाहिन्छ हिंसामुक्त भएमा सुरक्षित सिकाइ प्रभावकारी हुन्छ हिंसाका विभिन्न स्वरुपले बालबालिकाहरुको अधिकार दुरुपयोग भएको अध्ययनहरुले देखाउछ जसको असर उनिहरुको मनोविज्ञान र विकासमा नकारात्मक पर्दछ जुन घर, समाज र समुदायमा हिंसात्मक प्रवृत्ति हुन्छ त्यहाँका बालबालिकामा स्वाभाविकरुपले हिंसात्मक स्वभाव पैदा हुन्छ जसलेगर्दा उनिहरु बालबिज्याईमा सक्रिय हुनसक्छन् बालबालिकाले स्वतन्त्रता, भेदभाव विरुद्ध, संरक्षण, सहभागीता, सुचना, गोपनीयता, खेलकुद, र मनोरञ्जन तथा सांस्कृतिक अधिकारहरु सुनिश्चित गर्दै शिक्षाको अधिकार अनुभूति गर्न पाउनु आवश्यक छ फलस्वरुप बालबालिका सिर्जनशील, अनुशासित हुनुका साथै कर्तव्यमुखी हुनेछन् जहाँ डर, भय र त्रासबाट टाढा रहेर सजिलै समस्या, पीडा र गुनासा राख्न सक्नेछन् बालमैत्री तथा किसोरकिशोरीमैत्री सिकाइ र सिप दीर्घकालीन हुनेछ दिघो विकासमा प्रत्यक्ष प्रभाव राख्ने सिकाइ सधैं सुरक्षित वातावरणमा हुनुपर्छ

अवश्य पनि, सिकाइ सामान्य वातावरणमा सुरक्षित र सहयोगी भयो भने त्यस्तो सिकाइ सुदृढ र मजबुत हुन्छ सुरक्षित सिकाइलाई प्रभावकारी बनाउन बालबालिकासंग सरोकार राख्ने सबैको भूमिका उत्तिकै चाहिन्छ सर्वप्रथम बालबालिकाको विषयबारे सम्पूर्ण सरोकारवालाले जानकारी राख्नुपर्छ सो विषयमा सबै संबेदनशील हुनुपर्छ आवश्यक परेको खण्डमा गोपनीयताको पूर्ण पालना गर्नुपर्छ बालबालिकाका मुद्दाबारे उनिहरुलाई पनि सचेत गराउनुपर्छ बालबालिकाको स्वभावमा लचिलोपन बढी हुन्छ उनिहरुको मनपर्ने र मनोरञ्जन लिने तरिकाबाट सिकाइलाई सिर्जनशील बनाउनुपर्छ बालबालिकाको कमजोरीलाई चिनेर नरम रुपले प्रस्तुत हुनुपर्छ उनिहरुका कमजोर पक्षलाई ध्यानमा पुर्याएर सबल सिकाइमा संबेदनशील हुनुपर्छ

सबैले किसोरकिशोरी तथा बालबालिकाप्रति दायित्व बोध गर्नुपर्छ उनिहरुको संरक्षणकालागि हरेक तहमा निश्चित ढाँचा तयार गर्नुपर्छ घरमा हुने संरक्षण, केयर गृह, विद्यालय, समुदायमा हुने संरक्षणबारे राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासलाई हेर्दै प्रदेश र स्थानीय तहमा सिकाइका उत्तम अभ्यासहरु आत्मसात गर्न सकिन्छ यसका लागि अध्ययन अनुसन्धानमा बढी जोड आवश्यक पर्दछ जोखिम मूल्यांकन गरेर उक्त जोखिमको समयमै सम्बोधन गर्नुपर्छ जोखिम रोकथाम तथा व्यवस्थापनमा सहयोग गरि सुरक्षित वातावरण बनाउन सरोकारवालाहरु सक्रिय रहनुपर्छ

अन्त्यमा, सरकार र सरकारी निकायहरुले सुरक्षित सिकाइका नीति प्रक्रियाहरु विकास गर्दै बालबालिकाको सरोकारका प्रमुख क्षेत्र र समस्याको पहिचान गर्नुपर्छ सुरक्षित सिकाइका लागि आचारसंहिता, सुरक्षा नीति, मार्गदर्शन, रणनीतिहरु बनाई सबैलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्छ युवा, बालबालिका तथा किसोरकिशोरीहरुलाई नै सुरक्षित सिकाइबारे जानकारी दिन सक्यौ भने अझ प्रभावकारी नतिजा ल्याउनेछ सुरक्षित शिक्षणका लागि वातावरणको भूमिका र प्रभावबारे अभिभावक र बालबालिका हेरचाहकर्तालाई शिक्षा दिनुका साथसाथै सुरक्षित शिक्षणबारे प्रतिवद्ध गराउनुपर्छ हिंसा, उत्पीडन, र दुर्व्यवहार भएमा समयमै रिपोर्ट गरि उचित सुनुवाई गर्नुपर्छ हरेक क्षेत्रमा केहि राम्रो गर्दा सामान्य अबरोधहरु आउन सक्छन चुनौतीको सामना गर्दै युवा तथा बालसहभागिता सुनिश्चित गरि सुरक्षित सिकाइलाई प्रभावकारी बनाउनुपर्छ सुरक्षित सिकाइको सबैभन्दा महत्वपूर्ण पाटो भनेको सुरक्षित वातावरण बनाइसकेपछी यसलाई कायम राख्न सक्नुपर्छ आजको प्रयासले भोलिको भबिष्य निर्धारण गर्नेछ

#Selected
#
Creativity_Competition_on_Safe_to_Learn, SDG STUDIO

Comments

Post a Comment

Popular posts from this blog

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...