Skip to main content

वित्तीय साक्षरता र पुँजी बजार

वित्तीय शिक्षा सामान्य साक्षरदेखि लेखपढ नजान्ने जो–कोहीले सिक्न सक्ने र सिक्न पर्ने विषय हो । भान्सादेखि भविष्यका योजना, स्कुलदेखि रोजगारी, उद्यमदेखि उपयोग र आवश्यकतादेखि स्रोत सबै ठाउँमा वित्तीय साक्षरता चाहिन्छ । कृषिको भर र विप्रेषणको भारले देशको आयात निर्यातको व्यवस्थापनमा भूमिका खेलेकोे छ । वित्तीय चेतनाले वित्तीय स्रोत परिचालन गरी थप उत्पादनमुलक बनाउने छ । वित्तीय साक्षरताको ज्ञानले विद्यार्थीहरूले १०÷१२ कक्षाबाटै बीचमा पढाइ छोड्ने अवस्थालाई घटाउदै पढ्नलाई आफैँ आर्थिक स्रोत जुटाउन मद्दत पु¥याउन सक्छ । गृहस्थीहरूलाई थप आय स्रोतको खोजी गराउनेछ, फलस्वरुप व्यय भारमा कमी गराउनेछ । बालबालिकाहरूका लागि वित्तीय ज्ञानको रुख रोप्नेछ । वित्तीय साक्षर व्यक्ति राज्यका प्रमुख तहमा पुग्दा देशको स्रोत साधनको उच्चतम प्रयोगले अर्थतन्त्रमा विकास भएर रोजगार, आयस्तरमा वृद्धि हुँदै बढ्दो निर्यातले विकासमा सफलता मिल्नेछ ।

विश्व आर्थिक क्षेत्रमा वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको विषयले ठुलो चर्चा र महत्व पाउन थालेको छ ।  वित्तीय समावेशीकरणको सामान्य अर्थ सबैका लागि वित्तीय सेवा हो । प्रत्येक नागरिकलाई सुलभ तरिकाले वित्तीय सेवाको पहुँच पु¥याउनु नै वित्तीय समावेशीकरणको उद्देश्य हो । वित्तीय साक्षरता सबै उमेर समूह र वर्गका लागि महत्व राख्दछ । महिला र पुरुष, युवा र बुढाबुढी, सबै जातीय र आर्थिक अवस्था भएका जो कोहिलाइ असर गर्दछ । राज्यको भविष्य निर्धारण गर्न वित्तीय साक्षरताको भूमिका रहन्छ । त्यसैले वित्तीय अशिक्षालाई बेवास्ता गर्न सक्दैनौ । वित्तीय साक्षरतालाई सामान्यतया बचत, बजेट, लगानी र कर्जाका बारेमा जानकारी दिने शिक्षाको रुपमा बुझ्न सक्दछौ । अर्थसम्बन्धी अथवा आर्थिक क्रियाकलापसम्बन्धी लेखाजोखा गर्ने, सो बारे निर्णय गर्नसक्ने र सही व्यवस्थापनबाट मितव्ययी र प्रभावकारी उपयोग गर्न सक्षम भएर वित्तीय जानकारीबारे सबल बन्न सक्नु नै वित्तीय साक्षर हुनु हो । सुरक्षित बचत, आयव्ययको योजना, ऋणको व्यवस्थापन, उचित लगानी र लगानीमा उच्चतम प्रतिफल यसका आधार स्तम्भ हुन् ।

हामी २१ औं शताब्दीका साक्षर भएपनि आर्थिक साक्षरताको सवालमा निरक्षर छौँ । नेपालको सन्दर्भमा वित्तीय साक्षरतालाई महत्वपूर्णका साथ हेरिएको छ । वि.सं. २०६८ को जनगणनाका अनुसार नेपालमा गरिबी २५.२ प्रतिशतको रेखामुनि रहेको छ । नेपालको साक्षरता प्रतिशत ६५.९ प्रतिशत मात्र छ । नेपालमा अशिक्षा, गरिबी, बेरोजगारी र भौगोलिक विकटताका कारण शिक्षा आर्जनमा अवरोध आएको देखिन्छ । फलस्वरुप सानै उमेरमा रोजगारीका लागि पासपोर्ट बनाउन भौतारिनु पर्ने अवस्था आउने गरेको छ । विप्रेषणमा भरपर्दो घरायसी खर्च र बचतको उचित व्यवस्थापन गर्न पनि वित्तीय साक्षरताको आवश्यकता छ । यस्ता बचतलाई राम्रो प्रतिफल प्राप्त गर्ने सम्पत्तिमा लगानी गरी भविष्यमा बलियो आम्दानीको रुपमा विकास गर्नु आफैँमा चुनौतीको विषय हो ।

बैंकिङ, बिमा र धितोपत्रबारे साक्षरता वित्तीय साक्षरताका महत्वपूर्ण अङ्ग हुन् । नेपाली जनताको वित्तीय पहुँच अध्ययन गर्दा नेपाल राष्ट्र बैङ्कको २०७६ चैत्रसम्मको तथ्याङ्क हेर्दा जम्मा १६१ क, ख, ग, घ वर्गका बैङ्क तथा वित्तीय संस्थाले कुल ९६९२ शाखाबाट सेवा पु¥याएको अवस्था छ । जसमा २७ वाणिज्य बैङ्कका ४२१८ शाखा, २३ विकास बैङ्कका १२१६ शाखा, २२ फाइनान्स कम्पनीका २३९ शाखा र ८९ लघुवित्तका ४०१३ शाखा रहेका छन् ।  जुन औसत ३०५५ जना जनसङ्ख्या प्रति शाखा हो । नेपालमा ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या बैङ्किङ पहुँचमा रहेका छन् । त्यस्तै नेपालमा १९ जीवन बिमा कम्पनी, २० निर्जीवन बिमा कम्पनीले सर्वसाधारणलाई बिमा सुबिधा दिँदै आइरहेका छन् । ७० लाखभन्दा बढी व्यक्तिको पहुँचमा बिमा कम्पनी रहेका छन । नेपालमा सहकारी ऐन बमोजिम सञ्चालनमा रहेका १७,५०० भन्दा बढी बचत तथा ऋण र बहुउद्देशीय सहकारीहरू नेपालको वित्तीय बजारमा सक्रिय छन् । अन्य वित्तीय संस्थाहरू गैर सरकारी संस्थाहरू, सञ्चयकोषहरू, नेपाल स्टक एक्सचेन्ज, केही कमोडीटिज स्टक एक्सचेन्जहरूले वित्तीय बजारमा सेवा पु¥याइरहेका छन् ।

वित्तीय साक्षरता भनेको पैसाको महत्व बुझेर त्यसको सही परिचालन गर्नु हो । बैङ्कमा खाता हुदैमा मात्र त्यसलाई वित्तीय साक्षरता भनिदैन । यदि घरबाट पकेट खर्च बाफत १०० रुपैयाँ दिनुभयो । त्यो रकम खाजाकै लागि खर्च भयो भने त्यसलाई वित्तीय साक्षर भएको मानिदैन । जहाँ केही रकम खाजामा, केही रकम कापीकलममा खर्च गरी सो पैसाबाट बचत भयो भने वित्तीय चेतना देखाउँछ । सीमित स्रोत साधनको कुशल उपयोगबारे जानकारी दिँंदै आयमुलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट उन्नति गर्ने ज्ञान, सीप र कला प्रदान गर्नु वित्तीय साक्षरताको लक्ष्य हो । वित्तीय साक्षरताको कमी भएमा अनावश्यक ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा स्रोत साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुनसक्छ । वित्तीय साक्षरताले बचत, ऋण र बजेट व्यवस्थापन गरी लगानी गर्न, विप्रेषणको समुचित र उत्पादनमुलक प्रयोग गर्न, जोखिम नियन्त्रण र न्यूनीकरण गर्न बिमा तथा सुरक्षण गर्न प्रेरित गर्दछ । गैरकानुनी सम्पत्तिले निम्त्याउने विपत्ति बारे ज्ञान दिने तथा स्रोत साधनको उपयोगको विषयमा उचित निर्णय गर्न सक्षम वित्तीय शिक्षाले बनाउँछ । यसबाट निजको र मुलुकको आर्थिक उन्नतिमा सहयोग पुग्छ ।

बैङ्क तथा वित्तीय संस्थाद्वारा वित्तीय साक्षरता अभिवृद्धिका लागि थुप्रै कार्यहरू हँुदै आएका छन् । आर्थिक वर्ष २०६८÷६९ सालदेखिका मौद्रिक नीतिहरूमा वित्तीय चेतनाका कार्यक्रमलाई महत्व दिइएको छ । त्यस्तै बालबालिका तथा विद्यार्थीहरूका लागि विद्यालयमा नेपाल राष्ट्र बैङ्क कार्यक्रम सञ्चालन, वित्तीय साक्षरता ः सन्दर्भ पुस्तक, युवाहरू लक्षित पैसाको बोट पुस्तक, विद्यार्थीसँग नेपाल राष्ट्र बैङ्क पुस्तक तथा वित्तीय चेतनामुलक गीतहरूको सँगालो समृद्धितिर प्रकाशित भएका छन् । यस्तै बिमा कम्पनी, बैङ्कहरू र धितोपत्र बोर्डले वेवसाइट र फेसबुक लाइभ तथा वेबिनारहरू लगायतका सञ्चार माध्यमबाट सर्वसाधारणलाई साक्षात्कार गराइरहेका छन् । नेपालमा जनसङ्ख्याको ठुलो भाग औपचारिक वित्तीय सेवाबाट वञ्चित रहेको पाइन्छ । आर्थिक गतिविधिमा संलग्न सबै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भएपनि आर्थिक, सामाजिक, शैक्षिक रुपमा पछि परेका वर्गको आर्थिक क्रियाकलापलाई गतिशील दिशामा अघि बढाउनु र उनीहरूलाई वित्तीय पद्धतिको पहुँचमा पु¥याई तिनको आर्थिक जीवनस्तर उकास्नका लागि वित्तीय साक्षरता र आर्थिक पहुँचको कार्यक्रम सञ्चालन गरिन्छ ।

विद्यालय तथा विश्वविद्यालयहरूको पाठ्यक्रममा वित्तीय साक्षरतालाई समेट्न सके बढी प्रभावकारी हुन्थ्यो । उचित शिक्षाको अभावमा बालबालिका बढी खर्चिलो हुने, बचत गर्न सचेत नहुने र भविष्यप्रति चिन्ता नगर्ने स्वभावका हुन सक्छन् । कालान्तरमा उनीहरू आर्थिक अनुशासनमा कमजोर, भ्रष्ट आचरणयुक्त तथा आर्थिक प्रलोभनमा पर्ने स्वभावका नहोलान भन्न सकिन्न । जसबाट परिवार तथा देशकै अर्थतन्त्र धराशायी हुने सम्भावना रहन्छ । उपयुक्त वित्तीय शिक्षाले नै उनीहरूलाई आर्थिक रुपमा जिम्मेवार, नीतिवान, कर्तव्यपरायण र इमान्दार बन्न प्रेरित गर्दछ । जसबाट देश विकासमा दुरगामी प्रभाव पर्दछ । त्यस्तै देशमा व्यावहारिक शिक्षा र प्राविधिक शिक्षाको आवश्यताले पनि वित्तीय साक्षर हुन भूमिका खेल्दछ । वित्तीय सचेतना हुनु भनेकै अर्थतन्त्र सम्बन्धी जानकारी राख्नु, पैसालाई परिचालन गर्न सक्नु, र पैसाबाट पैसा आर्जन गर्नु हो । पैसा बैङ्कमा जम्मा गर्नु, बैङ्कबाट ऋण ल्याएर व्यापार व्यवसाय गर्नु, बिमा गर्नु, शेयरमा लगानी गर्नु जस्ता आर्थिक क्रियाकलापमा बचत लगानी गरी पैसालाई उत्पादनमुखी बनाउनु नै वित्तीय साक्षरताको उपलब्धि हो । त्यसैले पैसा भन्दापनि वित्तीय शिक्षा महत्वपूर्ण हुन्छ । वित्तीय साक्षर व्यक्ति राज्यको नीतिगत तहका पुग्न सके देशले विकासमा ठुलो फड्को मार्नेछ । आजको पुस्ता र अर्थव्यवस्थामा मुख्य समस्या नै वित्तीय साक्षरताको अभाव हो ।

अर्थतन्त्रको ऐनाको रुपमा हेरिने पुँजी बजार शेयर, ऋणपत्र र अन्य दीर्घकालीन लगानीहरूको कारोबार गरेर पुँजी जुटाउने वित्तीय प्रणालीको अङ्ग हो । दीर्घकालीन समयावधिको लगानी पुँजी बजारमा हुने भएर तरलता कम हुन्छ । तथापि दोस्रो बजारले यस्ता लगानीलाई तरलता प्रदान गर्दछ । एक वर्षभन्दा बढी समयावधि भएका लगानी कारोबार हुने भएकोले नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो पुँजी बजार हो । पुँजीबजारमा धितोपत्रहरूको कारोबार हुन्छ । सरकार तथा कम्पनीहरूले आफूलाई आवश्यक पुँजी सङ्कलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा कम्पनीहरूद्वारा निष्कासन तथा बिक्री गरिने शेयर, डिबेञ्चर, बन्ड, सामुहिक कोषका एकाङ्क लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार धितोपत्र बोर्डले बजार नियमन गर्दछ । नेपालमा पहिलो पटक वि.सं. १९९४ मा बिराटनगर जुट मिल्स र नेपाल बैङ्कले शेयर जारी गरेका थिए ।  सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निष्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं. २०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैङ्कहरूमध्ये हिमालयन बैङ्कले वि.सं. २०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

पुँजी बजारमा धितोपत्र किन्ने र बेच्ने लगानीकर्ताको लागि बजारको आ–आफ्नै महत्व रहेको छ  । पुँजी बजारमा संघीय र स्थानीय सरकार, सरकारका एजेन्सीहरू, कम्पनी र व्यावसायिक संस्था, समुदायको सहभागिता हुन्छ । सरकार र कम्पनीहरूलाई पुँजी बजारबाट दीर्घकालीन कोषहरू समुदायले दिने गर्दछन् । यसले आफ्नो बचतलाई आकर्षक धितोमा लगानी गर्न सर्वसाधारणलाई अवसर प्रदान गर्दछ । जसले लगानीको सम्मानजनक प्रतिफल सुनिश्चित गर्दछ । पुँजी बजार मार्फत पुँजी जम्मा भै देश विकासका क्षेत्रमा लगानी सुनिश्चित हुन्छ र देशको आर्थिक वृद्धिदरमा टेवा पुग्दछ । सो स्रोतले उद्योग, व्यापार व्यवसायमा लगानी गरी अर्थतन्त्रको क्षेत्र फराकिलो पारिन्छ । पुँजी बजारबाट देशको आर्थिक अवस्थाको अध्ययन गर्न सकिन्छ । जसबाट सरकारलाई आफ्ना नीति तथा कार्यक्रमहरू अगाडि बढाउन मार्गदर्शन मिल्ने गर्दछ । पुँजी बजारमा धितो मूल्यका बारेमा जानकारी गराइने भएकाले जनतालाई लगानीको निर्णय लिन सजिलो हुन्छ । पुँजी बजारले विभिन्न संस्थाहरूका लागि अवसरहरू प्रदान गर्दछ जस्तै ः वाणिज्य बैङ्क, म्युचुअल फण्ड, लगानी कोष आदि । त्यसैले राम्रो आम्दानी कमाउन पुँजी बजारमा लगानी गरिन्छ । जहाँ पोर्टफोलियो लगानी गर्नसक्छौं ।

धितोपत्र कारोबार अथवा पुँजी बजारमा प्रवेश गर्दा धितोपत्रहरूका बारेमा जानकारी राख्न जरुरी छ । सामान्यता नेपालमा शेयर, साधारण शेयर र अग्राधिकार शेयर, सरकारी ऋणपत्र र संस्थागत ऋणपत्र, सामुहिक लगानी योजनाहरू, अभौतिक सम्पत्ती धितोपत्रका रुपमा कारोबार हुँदै आइरहेका छन् । सबैभन्दा बढी कारोबार भैरहेको धितोपत्र शेयर हो । शेयर भनेको कम्पनीको स्वामित्वमा रहेको अंश हो । शेयर दुई प्रकारका हुन्छन् ः साधारण शेयर र अग्राधिकार शेयर । कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरधनीहरूलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरधनीलाई कम्पनीको साधारण सभामा भाग लिने, निर्णय प्रक्रियामा सहभागी हुने, मतदान गर्ने तथा कम्पनिको सञ्चालक हुन पाउने अधिकार प्राप्त हुन्छ । साधारण शेयर लगानीकर्ताको दायित्व लगानीको स्वामित्व अनुसारमा सीमित हुन्छ । यस्तै कम्पनीको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई कम्पनीले लाभांश वितरण गर्दा साधारण शेयरधनी भन्दा अग्र अधिकार हुन्छ भने कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् ।

तोकिएको दरमा र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने सर्तमा संगठित संस्थाले जारी गरेको ऋणपत्रलाई  डिबेञ्चर भनिन्छ । डिबेञ्चर लगानीमा आफूले लगानी गरेको रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गरिन्छ । तोकिएको सर्तमा केन्द्रीय वा स्थानीय सरकारले जारी गरेको ऋणपत्रलाई बन्ड भनिन्छ । कम जोखिम लिन चाहने लगानीकर्ताहरूले ऋणपत्रमा लगानी गर्दछन् । बन्ड वा डिबेञ्चरवालाहरूलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान गर्ने अधिकार हँुदैन ।

नेपालमा धेरै लगानीकर्ताको बचतलाई सङ्कलन गरी निश्चित वित्तीय औजारमा लगानी गरी व्यावसायिक व्यवस्थापनको ज्ञान तथा अनुभवको उपयोग गर्ने गरी सामुहिक लगानी योजना तथा म्युचुअल फन्ड स्थापना गरिएका छन् । सामुहिक कोष संस्थागत रुपमा बनेको हुन्छ । आफ्नो दक्ष लगानीद्वारा प्राप्त प्रतिफललाई समानुपातिक रुपले वितरण गर्न योजना व्यवस्थापकले सञ्चालन गरी लगानी कोष, एकाङ्क कोष वा यस्तै प्रकारको सहभागितामूलक कोष सञ्चालन गर्ने गरिन्छ । म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका हुन्छन् । खुलामुखीमा लगानीकर्ताले आफूसँग भएको एकाङ्क जुनसुकै समयामा बेच्न सक्छन र किन्न पनि सक्छन । जसमा लगानीकर्ता जुनसुकै समयमा सहभागी हुनसक्छन् र यस्तो योजनाको निश्चित अवधि तोकिएको हँुदैन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ । बन्दमुखी योजनामा योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ती मुल्यमा बिक्री गर्दछन् । बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ ।

धितोपत्रलाई प्रतिफल तथा जोखिमको आधारमा तीन प्रकारमा वर्गीकरण गर्न सक्छौं । उच्च जोखिम तथा उच्च लाभ हुने धितोपत्र जुन वर्गमा शेयर पर्छ । मध्यम लाभ तथा मध्यम जोखिम हुने वर्गमा अग्राधिकार शेयर, संस्थागत ऋणपत्र र म्युचुअल फन्डलाई राख्न सक्छौं । त्यस्तै न्यून जोखिम तथा न्यून प्रतिफल प्राप्त हुने वर्गमा सरकारी ऋणपत्र पर्दछन् ।

पुँजी बजारबारे अध्ययन राख्दै गर्दा, यहाँ कारोबार हुने धितोपत्रको बारेमा जानकारी राखे पश्चात्, धितोपत्रको कारोबारको बारेमा थाहा पाउन जरुरी हुन्छ । धितोपत्रहरू कम्पनीहरूले धितोपत्र निष्कासन गरेका बखत खरिद गर्न सकिन्छ भने यसलाई प्राथमिक बजारबाट धितोपत्र खरिद गरिएको भनिन्छ । सामान्यतया यो बजारमा धितोपत्रहरू अङ्कित मुल्यमा खरिद बिक्री हुन्छ । वित्तीय अवस्था बलियो भएका कम्पनीले अङ्कित मुल्यमा थप रकम जोडेर प्रिमियममा पनि बिक्रि गर्न सक्छन । स्टक एक्सचेन्जहरूले दोस्रो बजारको रुपमा काम गरेका हुन्छन् । स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मुल्यमा धितोपत्रहरूको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सदस्य दलाल मार्फत शेयर कारोबार हुन्छ । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

लगानीकर्ताहरूले पुँजी बजारमा पाइला टेक्दा प्राथमिक बजार र दोस्रो बजार गरी दुई वटा बजारबाट धितोपत्र कारोबार सुरु गर्न सक्छन । कम्पनीले वित्तीय बजारमा पुँजी वृद्धि गर्न नयाँ जारी गरेका बन्डहरू र शेयरहरू कारोबार गर्ने बजारलाई प्राथमिक बजार भनिन्छ ।  कोषको आपूर्ति गर्ने लगानीकर्तालाई कोषको प्रयोग गर्ने जारी कम्पनीले धितोपत्र बिक्री गर्ने गर्दछ ।  सरकार, स्थानीय सरकार, सरकारका एजेन्सी र संस्थाहरूले पुँजी बजारका औजारहरूलाई प्राथमिक बजारमा जारी गर्छन् भने व्यक्तिगत लगानीकर्ता, लगानी कोष र अन्य संस्थाहरूले प्राथमिक बजारमा यस्ता जारी गरिएका धितोपत्रहरू खरिद गर्छन् । यसरी पहिलो पटक संगठित संस्थाबाट जारी गरिएका धितोपत्रहरू प्राथमिक सार्वजनिक निष्कासन अर्थात् इनिसियल पब्लिक अफरिङ (आइपिओ) हुन् । नेपालको प्राथमिक बजारमा शेयरको अङ्कित मूल्य १०० रुपैयाँ प्रतिशेयर छ । त्यस्तै ऋणपत्रहरूको अङ्कित मूल्य १००० रुपैयाँ प्रतिकित्ता र म्युचिअल फण्डको अङ्कित मूल्य प्रतिकित्ता १० रुपैयाँ रहेको छ । धितोपत्र सार्वजनिक निष्कासन गरिसकेपछि सङ्गठित संस्थाले पुँजी वृद्धि गर्दा सर्वसाधारणलाई सोही किसिमको धितोपत्र पुनः सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने विधिलाई थप सार्वजनिक निष्कासन वा फर्दर पब्लिक अफरिङ (एफपीओ) भनिन्छ । सङ्गठित संस्थाले एफपीओ जारी गर्दा साधारणतया अङ्कित मूल्यभन्दा बढी प्रिमियममा जारी गर्छन् ।

कम्पनीले अगाडि नै जारी गरिसकेका शेयर कारोबार हुने बजारलाई दोस्रो स्टक बजार भनिन्छ । जुन कम्पनीका स्टकहरू दोस्रो बजारमा कारोबार हुने गर्छन्, ती कम्पनी कारोबारमा सहभागी हुदैनन् । यस्तो कारोबार लगानीकर्ताहरू बीचमा हुने गर्दछ । जसमा ब्रोकर अथवा धितोपत्र दलालहरूले धितोपत्र कारोबारमा सहजीकरणको भूमिका गर्छन् । धितोपत्रको मूल्य निर्धारण गर्न दोस्रो बजार उपयोगी हुन्छ । जुन सङ्गठित संस्थाले प्राथमिक बजारबाट जम्मा गरेको कोषको व्यवस्थापन राम्रोसँग गर्छन् त्यस्ता कम्पनीको धितोपत्र मूल्य बढी रहन्छ । यसका साथै स्टक मार्केटले लगानीकर्तालाई आफूले गरेको लगानी सजिलै बेचेर नगदमा परिणत गर्न मद्दत गर्छ, जसको महत्व प्राथमिक बजारको वृद्धि विकासका लागि रहेको छ । लगानीकर्ताले स्टक बजार खुला रहेको जुनसुकै दिनमा पनि दोस्रो बजारबाट सजिलै स्टकमा लगानी गर्न सक्छन । दोस्रो बजार दुई प्रकारका हुन्छन्् – सङ्गठित स्टक एक्सचेन्ज र ओभर द काउन्टर (ओटीसी) मार्केट । सङ्गठित स्टक एक्सचेन्ज त्यस्तो भौतिक स्थान हो जहाँ सूचिकृत भएका धितोपत्र कारोबार इजाजतपत्र सदस्यको माध्यमबाट स्थापित नीति, नियम र विनियममा रही कारोबार हुन्छन् । ओटीसी मार्केटमा त्यस्तो भौतिक स्थान नहुन सक्छ । ओटीसी मार्केटमा स्टक डिलर नेटवर्क मार्फत धितोपत्रको विनिमय हुन्छ । तर नेपालमा असूचिकृत स्टकका लागि कुनै डिलर नेटवर्क छैनन् । नेप्सेले नै ओटीसी मार्केटमा पनि काम गर्दछ । तसर्थ, नेपालको दोस्रो बजारलाई नेपाल स्टक एक्सचेन्ज र नेप्से ओटीसी बजारको रुपमा वर्गीकरण गर्न सकिन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड वि.सं. २०५० सालमा स्थापना भएको हो । यसको मुख्य उद्देश्य नेपालमा पुँजी बजारको संस्थागत विकासका लागि धितोपत्र विनिमय बजारको रुपमा कार्य गरी आन्तरिक पुँजीको परिचालनमा गतिशीलता, तरलता र सुलभता ल्याउने तथा स्वस्थ कारोबारका लागि आवश्यक व्यवस्था मिलाउने रहेको छ । 

धितोपत्रमा लगानी गर्दा लगानीकर्ताले धितोपत्रको बारेमा जानकारी राखेर लगानी गर्न आवश्यक हुन्छ । आइपिओ जारी गर्दा कम्पनीले गर्ने सार्वजनिक घोषणाले महत्व राख्दछ । कम्पनीको विवरण पत्र, कम्पनीमा रहेका प्रमोटर, व्यवस्थापक र सञ्चालकबारे अध्ययन गर्नु जरुरी हुन्छ । कम्पनीको वित्तीय अवस्था जानकारी राख्दा कम्पनीको नेटवर्थ, कम्पनीको नाफा घाटाको अवस्था र प्रावधानबारे थाहा हुन आवश्यक हुन्छ । कम्पनीको जोखिमको भारको अध्ययनका साथै कम्पनीको वित्तीय योजनाबारे ज्ञान राख्नुपर्छ । रेटिङ एजेन्सीद्वारा कम्पनीको क्रेडिट रेटिङ गरिने भएकाले कम्पनीले प्राप्त गर्ने रेटिङले महत्व राख्दछ ।

बेलाबेलामा पुँजीबजार अनूत्पादक क्षेत्र तथा जुवाको खेल हो भन्ने वक्तव्यहरू चर्चामा आइरहेका पनि सुनिन्छन् । जब लगानीकर्ता दोस्रो बजार प्रवेश गर्न खोज्छन् तब कोही लगानीकर्ताले लहलहैमा लागेर वा बिना कुनै विश्लेषण गरी धितोपत्र खरिद गर्ने गरेको पाइन्छ  । यसरी प्रवेश गरेका नवप्रवेशीहरूले सट्टाबाजीकै रुपमा पुँजीबजारलाई लिएका हुन सक्छन । दोस्रो बजारमा लगानीकर्ता भएर प्रवेश गर्न धेरै विश्लेषण आवश्यक हुन्छ । जसमध्ये कम्पनीले दिने लाभांशको घोषणा एक हो । नगद र जगेडा कोषलाई पुँजीकरण गरी बोनस शेयरको माध्यमबाट कम्पनीले लगानीकर्तालाई प्रतिफल वितरण गरिरहेका हुन्छन् । यस्तो लाभांश वितरणको इतिहासबारे ज्ञान राख्न आवश्यक छ । कम्पनीलाई थप पुँजी आवश्यक परेमा वर्तमान शेयरधनीहरूले मात्र आवेदन दिने गरी कम्पनीले नयाँ शेयर जारी गर्दछ जसलाई राइट शेयर अर्थात हकप्रद शेयर भनिन्छ । बोनस शेयर र हकप्रद शेयर बाँडी सकेपछि शेयरको मूल्य समायोजन गर्दा बजार मूल्य घट्न सक्छ । कम्पनीको म्यानेजमेन्टमा भएको परिवर्तन तथा कम्पनीले गरेका भविष्यको योजनाले बजार मूल्यमा प्रभाव गर्दछ । कम्पनीका वित्तीय सूचकहरू जस्तैः इपिएस, डीपिएस, पिई रेसियो, नेटवर्थ प्रति शेयर, शेयरको बजारी मूल्य र किताबी मुल्यको अनुपात आदिको अध्ययन गरी लगानीको जोखिमबारे जानकारी पाइन्छ । यस्तै कम्पनीको  बजार मुल्यको ट्रेन्डले कम्पनीको आगामी दिशा निर्धारण तथा अनुमान गर्न मद्दत गर्दछ । हामीले किनबेच गर्न लागेको धितोपत्रका बारेमा सम्पूर्ण विश्लेषण गरी कारोबार ग¥यौँ भने हाम्रो लगानी सुरक्षित हुनुका साथै उचित प्रतिफल प्राप्त गर्नसक्छौ ।

प्रसिद्ध लगानीकर्ता वारेन बफेटको एउटा भनाइ छ ‘खेलहरू जित्न खेलाडीहरूले मैदानमा ध्यान केन्द्रित गर्नुपर्छ, स्कोरबोर्डमा आँखा चिप्काएर जितिदैन’ । त्यसैले हाम्रो ध्यान कम्पनीको वित्तीय सूचकहरूमा केन्द्रित गराउन आवश्यक छ । धितोपत्रको वित्तीय सुचकहरूको मापन गरी मूल्य विश्लेषण गर्नुपर्छ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कुल शेयर सङ्ख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी उच्च हुनुलाई असल मानिन्छ । कम्पनीको शेयर बजारको मूल्य र आम्दानी बीचको अनुपात प्राइस टु अर्निंङ रेसियोेको अनुपात १० देखि २० सम्म तुलनात्मक रुपमा सुरक्षित हुन्छन् । शेयरको बजार मूल्य बीचको अनुपात प्राइस टु बुक भ्यालु रेसियोे ५ सम्म भएको शेयरलाई सुरक्षित मानिन्छ । अर्थात कुनै कम्पनिको शेयर किताबी मूल्य १२० रुपैयाँ छ भने बजार मूल्य ६०० रुपैयाँ हुदाँसम्म खरिद गर्दा जोखिम कम हुन्छ भन्ने मान्यता छ । एक साक्षर लगानीकर्ताले लहैलहै तथा अपवाहको पछि नलागेर कम्पनीका मूल्य मापन गर्ने महत्वपूर्ण आधारबारे विश्लेषण गर्नुपर्छ । पुँजी बजारमा गरिने लगानी दीर्घकालीन निश्चित वित्तीय उद्देश्य पाउन वा आवश्यकता पुरा गर्न योजनावद्ध तरिकाले गरिएको निर्णय हो । लगानीमा लगानीकर्ताको ज्ञान र अनुभवले जोखिम र प्रतिफल सम्बन्धमा अनुसन्धान र विश्लेषण गरिने भएकाले लगानीमा संग्लन सबै पक्षको जित हुन्छ र कसैको हार हुदैन ।

नेपालको पुँजी बजार शहर केन्द्रित भएकाले सबैका लागि प्रवेश गर्न चुनौती छ । तथापि सम्पूर्ण स्थानीय तहमा एक वाणिज्य बैङ्क पु¥याउने राष्ट्र बैङ्कको योजनाले पुँजी बजारमा प्रवेश गर्न टेवा पु¥याउनेछ । अहिले युवा र विद्यार्थीहरू माझ प्राथमिक बजार लोकप्रिय हुँदै गैरहेको छ । माइक्रोफाइनान्स र इन्सुरेन्स लगायतका सार्वजनिक निष्कासनमा गरेको सानो बचतको लगानीले प्रतिफल राम्रो दिएपछि आकर्षण लोभलाग्दो छ । जस्को प्रभाव स्वाभाविक रुपले दोस्रो बजारमा पनि पर्नेछ । यसैगरी पुँजी बजारमा टिकाउन वित्तीय साक्षरताले महत्व राख्दछ ।

शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र बजार व्यवस्थापन कसरी हुन्छ भन्नेबारे सामान्य जानकारीले धेरै महत्व राख्दछ । सर्वप्रथम प्राथमिक बजारमा प्रवेश गर्ने तरिकाबारे चर्चा गरौं । धितोपत्र खरिदका लागि आवेदन दिनु अघि लगानीकर्ताको आस्वा (एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमन्ट) सुविधा दिने बैङ्कमा खाता खोलिएको हुनुपर्छ । त्यस्तै सिडीएससिका निक्षेप सदस्य (डिपोजीटरि पार्टिसिप्यान्टस वा डिपी) मा डिम्याट खाता खोलेको हुनुपर्छ । डिम्याट खातामा लगानीकर्ताको धितोपत्र अभौतिक रुपमा रहेको हुन्छ । सार्वजनिक रुपमा निष्कासन भएका धितोपत्रहरू सर्वसाधारणले आफूले लिन चाहेको धितोपत्र सङ्ख्या तथा रकम स्पष्टसँग उल्लेख गरी बैङ्कमा आवेदन फाराम भरेर अथवा मेरो शेयरको अनलाइन लग इन गरी आवेदन भर्नुपर्दछ । हालसम्म आस्वामा दर्ता भएका बैङ्कको सङ्ख्या ६४ छन् भने ७६ वटा संस्थाहरूले निक्षेप सदस्यको लाइसेन्स प्राप्त गरेका छन् । जुन मेरो शेयरमा पनि दर्ता छन् । अहिलेसम्म हितग्राही खाता खोल्नेको सङ्ख्या १८ लाख ५० हजार भन्दा बढी पुगिसकेको छ । जुन सङ्ख्या दैनिक बढ्दै गैरहेको छ । दोस्रो बजारमा प्रवेश गर्दा सर्वप्रथम लगानीकर्ताले स्टक ब्रोकर कहाँ ब्रोकर खाता खोल्नु पर्दछ । ग्राहकको तर्फबाट धितोपत्र खरिद गरिदिने व्यवसायीलाई धितोपत्र दलाल अथवा स्टक ब्रोकर भनिन्छ । नेपालका विभिन्न शहरमा क्लियरिङ सदस्यको रुपमा दर्ता भएर ५० वटा ब्रोकर हाउसले आफ्ना शाखा मार्फत सेवा दिँदै आएका छन् । स्टक ब्रोकरमा खाता खोलिसकेपछि आफूसँग भएको शेयर बेच्न र थप नयाँ किन्नको लागि अनलाइन, टेलिफोन र इमेलबाट खरिद–बिक्री आदेश दिन सकिन्छ । दोस्रो बजारको कारोबार चुस्त, पारदर्शी, छिटो र सरल भएर सबैको पहुँच होस् भनेर नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टमबाट कारोबार गर्ने गरी नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीको विकास पनि गरेको छ ।

नेपालमा धितोपत्रको सञ्चालन सीडीएस एण्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । यो नेपाल स्टक एक्सचेन्जको पूर्ण स्वामित्व रहेको कम्पनी हो । यो प्रणालीे धितोपत्र बजारमा निष्कासन भएका धितोपत्रहरू सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र कारोबारको राफसाफ, फर्छ्यौट तथा नामसारी प्रक्रियालाई शिघ्र रुपमा सम्पन्न गर्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वामित्व अधिकारको विद्युतीय अभिलेख राख्ने जस्ता महत्वपूर्ण सेवा प्रदान गर्ने धितोपत्र बजारको महत्वपूर्ण पूर्वाधार हो । साधारण लगानीकर्ताहरू निक्षेप सदस्य मार्फत यो प्रणालीमा आबद्ध हुन सक्छन । बैङ्कहरूले नगद राख्न वा झिक्न खाता खोल्ने सुविधा दिएजस्तै डिपीले धितोपत्र राख्न वा झिक्नका लागि लगानीकर्ताहरूको नाममा खाता खोल्ने सुविधा दिन्छन् ।

धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्न नेपाल सरकारबाट वि.सं २०५० जेष्ठ २५ गते धितोपत्र बजारको नियमनकारी निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । धितोपत्र बजारमा एक स्वायत्त नियमन निकायको रुपमा स्थापना भएको बोर्डको मुख्य उद्देश्य सर्वसाधारण जनताको आर्थिक हित कायम राख्ने, देशको आर्थिक विकासमा योगदान पु¥याउने, लगानीकर्ताको हकहित संरक्षण गर्ने, उद्योगधन्दाको स्वामित्वमा जनसहभागिता बढाउने, संस्थागत सुशासन कायम गर्न र धितोपत्र कारोबारलाई व्यवस्थित र नियमित गर्नु रहेको छ । धितोपत्र ऐन २०६३ बमोजिम धितोपत्र बजारको विकास तथा बिस्तारका लागि आवश्यक कानुनी पूर्वाधारहरू तयार गरी प्रभावकारी नियमन प्रणालीको विकास गर्ने, बजारलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बजारको सुपरीवेक्षण तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने, बजारमा सहभागिताको जवाफदेहितालाई अभिवृद्धि गर्न आवश्यक कानुनी व्यवस्था गर्ने तथा बजारमा व्यापक जनसहभागिता जुटाउन जनचेतना अभिवृद्धि गर्ने लगायत कुरामा बोर्डले महत्वपूर्ण भूमिका खेलेको छ । पुँजी बजारमा आएका समस्याको हलका लागि धितोपत्र बोर्डले अध्ययन र अनुसन्धान गर्दै पुँजी बजारको विकास गर्दै आइरहेको छ ।

पुँजी बजार देशको अर्थतन्त्रको जग हो । पुँजी बजार बिनाको आर्थिक विकास कल्पना गर्न सकिदैन । पुँजी बजारले अनुत्पादक बचतलाई धितोपत्र मार्फत मूल प्रवाहमा ल्याएर उत्पादन लगानीमा परिवर्तन गरिदिन्छ । जसले अर्थतन्त्रमा आर्थिक वृद्धि गरी रोजगारीका अवसर पैदा गर्दछ । सङ्गठित संस्थाका सुचना पारदर्शी बनाई कार्यसम्पादन गर्नमा दवाब पैदा गर्दछ । पुँजी बजारले लगानीकर्तालाई आफ्नो लगानी चाहना अनुसार नगदमा परिणत गर्न तरलता प्रदान गर्दछ । बजारमा लगानीकर्ताको माग र आपूर्ति गर्न किन्ने र बेच्ने लगानीकर्ता उपलब्ध गराउदा कम्पनीको बजार मूल्य स्थिर राख्न मद्दत पु¥याउँछ । लगानीकर्तालाई विभिन्न धितोपत्र उपलब्ध गराई जोखिम कम गर्न सहयोग गर्दछ । लगानीको वातावरण बनाई सर्वसाधारणलाई बचत र लगानीको विकास गर्न प्रेरित पुँजी बजारले गर्छ । कम्पनीको सञ्चालनका लागि अल्पकालीन तथा दीर्घकालीन ऋण र कम्पनीको असीमित अवधिका लागि लगानी मार्फत पुँजी जुटाउने काम पुँजी बजारले गर्दछ । पुँजी बजारले कम्पनीको ऋणबाट हुनसक्ने सम्भाव्य जोखिम न्यूनीकरण गर्छ, जसबाट कम्पनीले काम गर्न खुकुलो वातावरण पाउँछन् । कम्पनीको शेयर पुँजी बढी भएको कम्पनी लगानी योग्य मानिन्छ जसले सजिलै आवश्यक ऋण लिन व्यक्ति, संस्था तथा बैङ्क तथा वित्तीय संस्थाको विश्वास प्राप्त गर्छन् ।

त्यसैले, सङ्गठित संस्थालाई आवश्यक स्रोत जुटाउने प्रमुख ठाउँ वित्तीय बजार नै हो । पुँजी बजारका माध्यमबाट उत्पादन, रोजगारी, औद्योगीकरण वृद्धि गर्दै समग्र देशको अर्थतन्त्र वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँछ । साथै सरकारलाई आवश्यक ऋण उपलब्ध गर्न सक्ने माध्यम पुँजीबजार हो । विकसित पुँजी बजारबाट दिगो आर्थिक वृद्धि गर्न सघाउ पुग्छ । राष्ट्रिय बचत तथा लगानी एवम् अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी ल्याउने गरी पुँजी बजारलाई सक्षम, गतिशील र विकसित बनाउन सकिन्छ । 

एउटा भनाई छ ‘यदि तपार्इँ पैसाको भाषा बुझ्नुहुन्न, र तपार्इँसँग बैङ्क खाता छैन भने, तपाईँ केवल आर्थिक गुलाम हुनुहुन्छ’ । प्रस्तुत भनाईबाट के बुझ्न सकिन्छ भने केवल पैसा कमाउनु हुन्छ अनि खर्च पश्चात बाँकी रकम आफैँसँग राख्नुहुन्छ भने त्यो बचत अनुत्पादक हुनेछ । बैङ्क खातामा जम्मा गर्दा बैङ्कले ऋण लगानी गरेर आम्दानी गरी तपाईँलाई ब्याज दिनेछ । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापार, उद्यमशीलता गर्न अथवा अत्यावश्यक कामका लागि प्रयोग पनि गर्न सकिन्छ । बैङ्क तथा वित्तीय संस्थाका सेवा सुबिधाको बारे जानकारी राखी बैङ्क तथा वित्तीय संस्थाबाट लाभ लिन सक्षम हुनु बैङ्किङ्ग साक्षर हुनु हो । बैङ्किङ्ग साक्षरता वित्तीय साक्षरताको महत्वपूर्ण अङ्ग हो ।

नेपाल स्टक एक्सचेन्जले पुँजी बजार साक्षरताका लागि आम–जनतालाई लक्षित गरी पुँजीबजारमा आर्थिक सचेतना अभिवृद्धि होस् भने अभिप्रायले स्कुल, कलेज तथा विश्वविद्यालयका विद्यार्थीलाई तालिम दिने गरी वि.सं. २०७६ कार्तिकदेखि ‘भिजिट नेप्से कार्यक्रम’ सुरु गरेको थियो । कुल जनसङ्ख्याका १८ प्रतिशत व्यक्ति मात्र पुँजीबजारका विषयमा साक्षर छन् । पुँजी बजारमा आबद्ध हुने लगानीकर्ताको सङ्ख्या बढ्दै गएपनि उनीहरूमा पुँजीबजारको विस्तृत ज्ञान तथा दक्षताको भने अभाव छ । जसकारण धेरैजस्तो लगानीकर्ता प्राथमिक बजारमा मात्र लगानी गरिरहेकाले दोस्रो बजारमा सीमित लगानीकर्ता मात्र कारोबारमा संलग्न छन् ।

नेपालको सन्दर्भमा वित्तीय साक्षरताको आवश्यकतालाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । पुँजी बजारमा वित्तीय साक्षरता जति बढायो उतिनै बढी पुँजीको परिचालन वित्तीय क्षेत्रमा बढ्ने छ । रणनीतिक रुपले वित्तीय साक्षरता बढाउन सर्वप्रथम जनतालाई उनीहरूको वित्तीय हितको बारेमा वित्तीय शिक्षाले दिने फाइदाको बारेमा जागरुकता बढाउन आवश्यक हुन्छ । अर्को कुरा रणनीतिको रुपमा वित्तीय क्षेत्रको नीतिगत क्षेत्र सुधार र सुशासनका लागि नीति निर्माणकर्ताहरू र सरोकारवालाहरू बीचमा वकालत गर्नुपर्ने हुन्छ । समग्र पुँजी बजारको विकासका लागि वित्तीय चेतना एवम् वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्दछ । नेपालको पुँजी बजारमा प्रवेश गरेका लगानीकर्तालाई शेयर धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने सुविधा, धितोपत्र बिक्री गरी नगदको आवश्यकता पुरा गर्न तथा धितोपत्रको थप कारोबार गर्न मार्जिन ल्यान्डिङको सुविधा उपलब्ध छ । कम्पनीको सही विश्लेषण गर्न सक्ने लगानीकर्ताले बजारको उतारचढावमा शेयर खरिद बिक्री गरी लाभ लिन सक्छन ।

अन्त्यमा, कुनै पेशा व्यवसायमा आबद्ध भइरहँदा पनि सजिलै लगानी गर्न मिल्ने महत्वपूर्ण क्षेत्र पुँजी बजार हो । जहाँ सामान्य वित्तीय शिक्षाले विद्यार्थी, गृहिणी र गृहस्थीहरूले पनि स–सानो बचतलाई सजिलै लगानी गर्न सक्छन जसले बचतलाई उत्पादनमुखी बनाउने छ । सम्भावित अवसरबारे साक्षर हुनुहोस, ज्ञानको लगानीले सधैं राम्रो प्रतिफल दिन्छ । वित्तीय साक्षर भएर पुँजीबजारबाट सुरक्षित वित्तीय भविष्य सुनिश्चित गर्नुहोस ।

Comments

Popular posts from this blog

सुरक्षित वातावरण र सिकाइ

प्रत्येक बालबालिकालाई सुरक्षित वातावरणको अधिकार छ । संयुक्त राष्ट्र संघको बालअधिकार माहासन्धीले पनि बालबालिकाको सम्भव भएसम्म स्वस्थ र सुरक्षित वातावरणमा विकास हुनुपर्ने कुरामा जोड दिएको छ । सुरक्षा सबैका लागि महत्वपूर्ण छ । कुनैपनि व्यक्ति सुरक्षित महसुस गर्छन् भने उनिहरु जोखिम लिन, प्रश्नहरु सोध्न, गल्ति गर्न, विश्वास गर्न सिक्न र भावना साटासाट गर्दै हुर्कन सक्छन् । बालबालिकाले घरपरिवार, विद्यालय, र समाजदेखि लिएका सुचनाबाट ज्ञान प्राप्त गर्छन् । उमेरले परिपक्व नहुने भएकाले आजको वातावरणले गहिरो प्रभाव पार्छ । एउटा उखान छ, ‘संगत गुणको फल’, यसबाट बुझ्नसक्छौ, बालबालिकाहरुको व्यवहार र गुण हामीले दिएको शिक्षामा निर्भर गर्छ । बालबालिका हिंसामुक्त भएपछी मात्र सुरक्षित सिकाइ पूर्णतया सम्भव हुन्छ । सुरक्षित सिकाइलाई बालबालिकामा पर्ने मनोवैज्ञानिक र शारीरिक यातनाले असर पुर्याउँछ । सुरक्षित वातावरणको अभावले वृद्धिबिकास र आत्मबल कम हुने भएकाले भबिष्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ । बालबालिकाहरुले घरपरिवार, विद्यालय र समाजमा असुरक्षित महसुस गर्न सक्छन । असहज, डर, भय र असुरक्षित वाताव...

कविता

  उ चरी बिचरी पटक पटक उड्न खोज्दै थिइ पखेटा फट्फटाउदै उडेको देखाउदै केही चाल चाल्दै उड्दै थिइ घरी रोकिन्थी उड्न बढ्थी र पनि गन्तब्यमा चलायमान थिइ । उस्को न्यास्रो उचाईले मेटाउथ्यो ! सुनाउथी कास पखेटा नहुदो हो बकवास त्यही पखेटा सायद खास लाग्दो हो । पिजडाको जरा उसलाई थाहा थियो गन्तव्य बिहिन यात्राको अन्त्य बुझेको थियो तर सधैं यस्कै दोधार रह्यो, त्यही धार थियो त दोधार पनि । यहि भुमरीमा भरमराइरहेकी पुतलीलाई बगैंचाको सुन्दरता बनेझैँ अस्तित्वको सुन्दरता बोक्ने ती चरीलाई शुभकामना ! Happy Womens Day !

विद्यार्थी राजनीति : समीक्षा र सवाल

http://www.prasashan.com/2019/04/22/116179/ नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो । दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थ...