https://www.updatekhabar.com/art/
नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । युनियनहरूले विद्यार्थीको प्रतिनिधित्व गर्दै विद्यार्थीका विचार र हक सुनिश्चित गर्न पहल, बहस, अभियान र क्रियाकलापहरूमा सहजीकरण र सहयोग गर्न स्वयमसेबी भूमिका खेल्नु पर्दछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध पहिले सन् १९०० देखी सन् १९३० बिचमा आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो ।
दोस्रो विश्वयुद्धमा विद्यार्थी यूनियनले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको भूमिका निर्वाह गरे जहाँ विश्वविद्यालयमा बस्न र खानपिनमा मद्दत गरे । विश्वयुद्ध पछि युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधि सुधार ल्याउन थालिएको थियो जस्तो कि छात्रछात्राका छुट्ट्याएका कक्षाकोठा एउटै, संयुक्त हल र क्यान्टिन बारहरू । तर बेलायतको इतिहास केलाउँदा सन् १८८४ मा एडिनबर्ग युनिभर्सिटीमा स्टुडेन्ट एसोसेसनको स्थापना भएको पाइन्छ । सन् १८८९ मा एडिनबर्ग युनिभर्सिटीले स्टुडेन्ट एसोसेसनको छुट्टै भवन निर्माण गरेको थियो । आर्थिक श्रोतको व्यवस्थापन विश्वविद्यालयको अनुदान, सामूहिक कोष विकास र व्यावसायिक प्रदर्शनीहरू बाट आउने गर्दछ । सबै विद्यार्थी सङ्घहरू लोकतान्त्रिक रूपमा चलाउनुपर्छ र कुनै पनि प्राप्त पैसाहरू खर्च गर्दा स्वार्थ रहित सेवाको भावनामा खर्च गर्नुपर्छ जुन एजुकेसन एक्ट १९९४ अनुसार हुनुपर्दछ । एक्काइसौँ शताब्दीमा युनियनहरूले विद्यार्थी आकर्षित गराउन र समावेश गराउन नयाँ सृजनशील र प्रगतिशिल बिचारहरूले गम्भीर भएर काम गर्ने गरेको छ ।
नेपालको विद्यार्थी राजनीतिमा भारतीय स्वतन्त्रताको आन्दोलनको छाप परेको देखिन्छ । २००६ तिर बिपि कोइराला ११ वर्षको हुँदा महात्मा गान्धीको अङ्ग्रेज विरुद्धको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । १५ वर्षको उमेरमा उहाँलाई राणा शासन विरुद्ध नेपाली जनताको स्वतन्त्रताको लागि लडिरहेकाले पक्राउ गरिएको थियो । उहाँ काँग्रेस समाजवादी पार्टीका ब्वाइज सेक्सन अध्यक्ष हुनुहुन्थ्यो । अनि गणेशमान सिङलाई दरबार हाई स्कुलबाट हटाइयो । कृष्णप्रसाद भट्टराई बनारसका नेपाली विद्यार्थीहरूको सङ्घ नेपाल छात्र सङ्घ उपाध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको पहिलो महत्त्वपूर्ण आन्दोलन जयतु संस्कृतमा हो । तत्कालीन सरकारको नीति राजकीय संस्कृत विद्यालय विरुद्ध भएको थियो । राजनीतिक प्रजातन्त्रका लागि यो आन्दोलनको योगदान ठूलो छ । राणा शासन विरुद्धको परिवर्तनका लागि विद्यार्थी एक भएर आन्दोलन अगाडी बढाएको पाइन्छ । १९९७ माघ १६ गते त्रिचन्द्र कलेजका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई रुखमा झुन्ड्याएर शोभा भगवतीमा मारियो । गङ्गालाल श्रेष्ठ विद्यार्थी आन्दोलनको पहिलो सहिद हुन ।
नेपालको महत्वपूर्ण घटनाहरूलाई साक्षी राखेको पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो । तत्कालीन समयमा दललाई प्रतिबन्ध लगाइएको बेला नेपाली काँग्रेसले बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्य सङ्ग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना २०२७ सालमा गरेको थियो । वर्तमान राजनीतिज्ञ अर्जुन नरसिंह केसी, शेरबहादुर देउवा, मार्सल जुलुम शाक्य, बिपिन कोइराला समूहले सन् १९७० मा स्थापना गरेका थिए । संस्थापक सभापति बिपिन कोइराला र सन् १९७१ मा दोस्रो सभापति शेर बहादुर देउवा रहनुभएको थियो । सन् १९७९ को मुख्य आन्दोलन स्वतन्त्र विद्यार्थी युनियन र प्रजातन्त्र बहालीका लागि भएको थियो ।
अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन नेकपा एमालेको विद्यार्थी सङ्गठन हो । गुणस्तरीय शिक्षा, व्यावहारिक शिक्षा र शिक्षाको बदलीकरणका लागि अनेरास्ववियुको स्थापना भएको हो । २०२२ जेठ १ गते स्थापना भएको नेपालको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनको सङ्गठन विश्व प्रतिस्पर्धी नागरिकको लागि शैक्षिक वकालत गर्दै आइरहेको छ । २२ औँ महाधिवेशनबाट नेत्रृ नबिना लामा अध्यक्षमा निर्वा्चित भएकी थीइन । रामकुमारी झाँक्री पछि अध्यक्ष हुने दोस्रो महिला हुन । प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट निर्वा्चित संसद लामाको राजनीतिक सक्रियता र सफलताले महिला नेतृत्व जन्माउन एक आदर्श हौसला हुनेछ । त्यस्तै राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाउँदो र समाजवादी शिक्षा हुनुपर्छ भन्दै अखिल क्रान्तिकारीले वकालत गर्दै आइरहेको छ । २०२२ जेठ महिनामा स्थापना भएको अखिल क्रान्तिकारी नेकपा माओवादी केन्द्र पार्टीको भातृसङ्गठनको रूपमा रहेको छ । एमाले र माओवादी केन्द्र एकता पछि नेपाल कम्युनिस्ट पार्टी भइसकेको वर्षदिन भैसक्दा बिद्यार्थी संगठनले नेतृत्व पाएपनी एकता पुरा भइसकेको छैन । भातृसङ्गठनको रूपमा बिद्यार्थी बिच राजपा निकट राष्ट्रिय विद्यार्थी सङ्गठन, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन पनि सक्रिय छन् ।
दशक यता विश्वविद्यालय क्यम्पसहरूमा स्वतन्त्र समूह सङ्गठनहरू, क्लब, सामाजिक सन्जालका गु्रप, विद्यार्थी मञ्च, रेडक्रस र साहित्यिक समाजहरू सामाजिक र शैक्षिक गतिविधिमा अगाडि बढेका छन् । वैज्ञानिक प्रदर्शनी, कला प्रदर्शनी, क्षमता पहिचान, सामाजिक सेवा, सामाजिक विकृति उन्मुलन र नेतृत्व तथा व्यक्तित्व विकास, युवा सहभागितामा उल्लेख्य भूमिका खेलका छन् । त्यस्तै मूलधारको पहिले स्वतन्त्र विद्यार्थी सङ्गठन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ७७ जिल्लामा सक्रिय रहेको छ । २०५२ मङ्सिर २४ गते स्थापना भएको सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतिक किचलोबाट मुक्त बनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ । देशमा संघीय संरचनामा सातवटै प्रदेश अधिवेशन गर्ने पहिले सङ्गठन हो ।
आन्दोलनको स्वरूप परिवर्तन ल्याउन नसक्नुले विद्यार्थी सङ्गठनको अस्तित्व माथि चर्चा र आलोचना बढ्न थालेको छ । आन्दोलनले भएका सम्पत्ति, सम्पदा र सार्मथलाई हानी र कमजोर गर्नु सिङ्गो देशलाई अँध्यारोमा धकेल्नु हो । आन्दोलन रचनात्मक, विवेकात्मक, सृजनशील र फाइदाजनक हुन जरुरी छ । देशका ठुला राजनीतिक घटनाक्रममा हरेक समयमा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण अर्थ राखेको छ । २००७ सालको राणा शासनको अन्त्य, २०१७ सालको प्रजातन्त्रको अन्त्य तथा पञ्चायत व्यवस्थाका खिलाफ, २०४६ सालको पञ्चायत व्यवस्थाको अन्त्य तथा प्रजातन्त्र स्थापनाका लागि, २०६५ सालको राजसंस्थाको अन्त्य तथा गणतन्त्र लागु गर्न र २०७४ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्दा सम्म विद्यार्थीले सङ्घर्ष गरेको हामी बिर्सिन सक्दैनौ । अहिले आलोचनाको घेरा चर्चा गर्न नसक्दा बिद्यार्थीका हक अधिकार र मार्ग्चित्रणका मुद्दा ओझेलमा छ्न । भोगिरहेका र सुधार हुन जरुरी रहेका विषय बस्तुहरूमा अबको ध्यान केन्द्रित गरौँ ।
सङ्गठनले तब राम्रो नतिजा दिनसक्छ जब आन्तरिक द्वन्द्व, विवाद, सवालहरूलाई समाधान गर्दै बलियो नेतृत्व पाउँछ, त्यसैले आन्तरिक द्वन्द्वमा अल्झिनु हुँदैन । विद्यार्थी सङ्गठन सरकारको सत्तापक्ष र प्रतिपक्ष दुइटै भूमिका खेल्ने शक्ति हो । सरकारका योजना, नीति र कार्यक्रमलाई सहयोग र्पुयाउने कर्तव्य र सल्लाह सुझाव दिने र खबरदारी गर्ने दायित्व सङ्गठनको हो । ठूला राजनीतिक परिवर्तनका उदाहरण छन् जहाँ विद्यार्थी मोर्चाबन्दीले अहम भूमिका निर्वाह गरेको छ । पछिल्लो परिवर्तन २०६२÷०६३ को जनआन्दोलन सफल पार्न दलीय नेतृत्व भन्दा विद्यार्थी नेतृत्व नै अग्रसर भएर सम्भव भएको थियो । जब विद्यार्थी युनियनमा एकता, सद्भाव, सद्मार्ग र प्रस्ट उद्देश्य हुन्छ मूलधारमा रहेका माउ पार्टीलाई गलत गर्ने विकल्प रहँदैन तब मात्र खोजेको समृद्ध नेपाल सुखी नेपाली सम्भव छ । विद्यार्थीका सामूहिक मुद्दा र गतिविधिमा मोर्चाबन्दी गर्दै अगाडि बढ्न २०६३ चैत्र २४ गते संयुक्त युवा तथा विद्यार्थी मञ्च स्थापना भएको थियो । अहिले सामूहिक मञ्चको आवश्यकता र कमी दुइटै महसुस आम विद्यार्थीले गर्दै आइरहेका छन् । सत्ता परिवर्तन र एक अर्कालाई कमजोर पार्ने हेतुले मोर्चाबन्दीको खेल खेलिनु दुर्भाग्य हो ।
केन्द्रीय राजनीतिको प्रभावमा स्ववियूको नेतृत्व पाउने होडबाजी र यसलाई दलको लोकप्रियता बुझ्ने साँघुरो सोचको प्रकाष्टाले स्वयम् सङ्गठनहरू नै निर्वाचनको पक्षमा नभएको प्रस्ट छ । स्ववियु खोज अनुसन्धानमूलक, सिर्जनात्मक र विद्यार्थीको भावना बुझ्ने हुनु आवश्यक छ । विश्वविद्यालय, सिटिभिटी, राष्ट्रिय परीक्षा बोर्ड र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी युनियनका चासोका ठाउँहरू हुन । शैक्षिक गतिविधिमा विद्यार्थी सङ्गठन जबाफदेही हुनुपर्दछ । विश्वविद्यालयको फितलो व्यवस्थापन, शैक्षिक क्यालेन्डरको कार्यान्वयनमा समस्या, शैक्षिक गतिविधिमा ह्रास, पाठ्यक्रमको स्तरता, सेमेस्टरको चुनौती र समस्या, गुणस्तर, राजनैतिक खिचातानी नियुक्ति, परीक्षाको फितलो व्यवस्थापन, जथाभाबी सम्बन्धन र नियुक्ति साथै स्ववियूका समस्याहरू सामान्य जस्तै छन् । प्रश्नपत्रहरू बाहिरिनु, शङ्काको घेरा भित्र परीक्षाफलमा त्रुटि भेटिनुले हाम्रो शैक्षिक भविष्य अवश्य केलाउँछ ।
सरकारले आधारभूत शिक्षा निःशुल्क गरिरहेका बेला निजी विद्यालयको चर्को शुल्क बृद्विले शैक्षिक शिक्षामा विभेद निम्त्याएको छ । सरकारी सामुदायिक स्कुल विद्यालय टाढा हुनु, भैतिक पूर्वधार बलियो नहुनु, शिक्षकको कोटा पुरा नहुनु, पढाईको स्तरमा कमी हुनु र विद्यालयको लापरबाहीले सबै अभिभावकले आफ्ना सन्ततिको उज्वल भविष्यका लागि निजी विद्यालय वाध्यात्मक विकल्पको रूपमा हेरिन्छ । शिक्षा व्यापार नभएर नागरिकको मौलिक हक हो त्यसैले शिक्षा समान हुनुपर्दछ । मेडिकल कलेजहरूले गैर जिम्ववारीपूर्ण शुल्क असुल्ने, परीक्षाबाट वञ्चित पार्ने, गुनासो राख्दा आन्तरिक मूल्याङ्कनमा प्रभाव पार्नु केवल उदाहरण मात्र हो । यस्ता घटना प्राय कलेजमा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको छ ।
राज्यको सम्बन्धित र जिम्मेवार निकायले योजनाबद्ध तरिकाले निती तथा कार्यक्रम ल्याइरहने र युवाहरू सूचनाको पहुँचबाट टाढा रहनाले उपलब्धी हासिल गर्न सकिरहेको छैन । या त विदेश जाने या त बेरोजगार भएर त्यसै हल्लिने प्रवृत्ति युवामा विकास भएको छ । यहाँ सरकार र सरोकारवालाहरू बिच पुल बन्दै सक्रिय रहनुपर्छ । नीतिगत सुधार, व्यवस्थित कार्यसम्पादन, वैज्ञानिक मूल्याङ्कन र कार्य्दिशाका बारेमा आफ्नो बौद्धिकताको सदुपयोग गरी सल्लाह सुझाव र प्रभावका बारेमा बलियो आधार देश विकासका लागि सबै निकायमा र्पुयाउन सक्नुपर्छ ।
सङ्गठन साङ्गठनिक काम कारबाहीमा मात्र सीमित रहँदा के विद्यार्थी वर्ग, समाज र राष्ट्रप्रति उत्तरदायी हुनसक्छ त ? सङ्गठनका कार्यहरू पारदर्शी, मितव्ययी, समावेशी र उपलब्धिमूलक हुनुपर्दछ । विद्यार्थी सङ्गठनको चासो केवल शैक्षिक मात्र नभएर सामाजिक, राजनीतिक र आर्थिक विकास सँगै धार्मिक सांस्कृतिक संरक्षणमा हुनुपर्दछ । सार्वभौमसत्ता अनी सीमा बचाउने, अधिकार सुनिश्चितता र प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व विद्यार्थी नेतृत्वको हो । माउ पर्टीको गल्ती ढाकछोप र प्रतिरक्षा गर्ने गलत अभ्यासलाई निरुत्साहित गर्नुपर्छ । विद्यार्थी सकारात्मक र सत्य परक हुन जरुरी छ । सीप तथा रोजगार सिर्जना उन्मुख गतिविधि ल्याउन सक्रियताका साथसाथै राहत वितरण, पुनर्निमाण र उद्धार कार्यमा अर्धशैन्य शक्तिको रूपमा तयार रहनुपर्छ । समय परिवेश, परिस्थिति र परिवर्तन अनुसारको आवश्यक निर्णय क्षमता र्पुयाउन सकेमात्र सङ्गठनको औचित्य रहन्छ ।
अन्त्यमा, विद्यार्थी राजनीति कमाइ खाने भाँडो होइन । न त सत्ता प्राप्तिको खेल । विद्यार्थीको विकास सँगै देश विकासको खाका यही थलोबाट गरिनुपर्दछ । विद्यार्थी सङ्गठनको लोकप्रियताका लागि विद्यार्थीका भावना र आवश्यकता बुझ्नुनै सबै भन्दा ठुलो हतियार हो । सावधान गर्ने सिपाही, सञ्चार र्पुयाउने हुलाकी, समाजसेवा गर्ने समाजसेवी लिएर हरेक क्षेत्रका दक्ष विज्ञ जन्माउने साधन हो विद्यार्थी सङ्गठन । सकारात्मक सोच अनि स्वच्छ छविको लोकप्रिय बौद्विक प्राज्ञ जमात बनिरहोस् विद्यार्थी सङ्गठन ।

राष्ट्रिय युवा परिषदको वार्षिक प्रकाशन " युवा दर्पण " नामक बुलेटिनमा छनोट भएर प्रकाशन भएको लेख हो । २०७६/७७ अंक ।
ReplyDelete